प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । आज शुक्रबार बिहान कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरूले मुख्य गेटमै धर्ना दिएका छन् । हिजो विहीबार मात्र उनीहरूले मुख्य अधिकृत झवीन्द्र भुसाल कार्यकक्षमै रहँदा ढोका लागाइदिएर बाहिर बसेका थिए ।
काउन्सिलमा २२ जना स्थायी कर्मचारी छन् । गत माघदेखि महँगी भत्ता नपाएको उनीहरूको गुनासो छ । आफूहरूलाई विभेद गरेको भन्दै करारका कर्मचारी पनि असन्तुष्ट छन् । लामो समयदेखि महँगी भत्ता रोकिँदा आर्थिक भार बढेको र यस्तो अवस्थामा समेत नेतृत्वले चासो नदिएको उनीहरूको गुनासो रहेको छ । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको आन्दोलनमा सहभागी एक कर्मचारीको भनाइ छ ।
यस विषयमा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कर्मचारीहरूले भत्ता नपाएको विषयमा पटक–पटक छलफल भई बजेट निकासा गराउन पहल भइरहेको जानकारी दिए । बजेट आउन धेरै समय लागेकाले कर्मचारीहरू भत्ता नै नआउने हो कि भनेर आत्तिएको हुन सक्ने बताइएको छ ।


