कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनमार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो ।
नगरपालिकाको पूर्व स्वीकृतिविना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पुर्याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ । “सडक क्षेत्रमा अवरोध पुर्याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि, २०७६ बमोजिम कारबाही गरिनेछ,” प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने ।


