चिनियाँ इभी ब्रान्ड लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी ‘B03’ चाँडै नै नेपाली सडकमा गुड्ने भएको छ। नेपालका लागि यसको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा.लि.का अनुसार पहिलो B03 गाडी चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको छ र यसको औपचारिक सार्वजनिक आगामी ‘नाइमा मोबिलिटी एक्स्पो’ मा गरिने तयारी छ। विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ (मसेराटी, जिप र प्युजो जस्ता १४ ब्रान्डको माउ कम्पनी) सँगको संयुक्त साझेदारीमा निर्माण भएको लिपमोटरले विश्वभर ४० भन्दा बढी देशमा नेटवर्क विस्तार गर्दै १५ लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको बलियो पृष्ठभूमि बोकेको छ।
विशेष गरी दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यले ग्वान्झाउ अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको यो एसयूभी अत्याधुनिक ‘नेक्स्ट जेनेरेसन आर्किटेक्चर’ मा आधारित छ। प्रविधिको कुरा गर्दा यसमा १०० किलोवाटको फ्रन्ट–ह्विल–ड्राइभ इलेक्ट्रिक मोटर छ, जसले २०० एनएम टर्क पैदा गर्छ। प्रिमियम फिचर्सले भरिपूर्ण यस गाडीमा १८ इन्चको एलोय ह्विल, १४.६ इन्चको २.५के एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सुरक्षाका लागि लेभल–२ एडास ड्राइभर असिस्टेन्स र ५१० लिटरको फराकिलो बुट स्पेस जस्ता विशेषताहरू समावेस गरिएका छन्।
नेपाली ग्राहकका लागि यो एसयूभी दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ, जसमा ब्याट्री क्षमता र सुविधाहरूमा केही भिन्नता पाइनेछ। चिनियाँ बजारमा यस वर्षको जुन महिनामा मात्रै ९३ हजार ३७६ युनिट बिक्री भएर कीर्तिमान कायम गरिसकेको यो मोडलले नेपालमा पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। उत्कृष्ट फिचर्स र बलियो साखका कारण लिपमोटर B03 नेपाली अटो बजारको किफायती इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक आक्रामक र बलियो प्रतिस्पर्धीका रूपमा उभिने निश्चित देखिन्छ।


