राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाको त्याग, बलिदान र साहसकै कारण आज नेपालीले विश्वसामु शिर उँचो पारेर गौरव गर्न पाएको बताएका छन । शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्तीका अवसरमा बोल्दै उहाँले इतिहासका असल पक्षको अनुसरण गरेर मात्र वर्तमानलाई न्याय गर्न सकिने र भविष्यको सुनौलो बाटो तय हुने धारणा व्यक्त गरे ।
पौडेलले आपसी भाइचारा, सहिष्णुता र अभेद्य राष्ट्रिय एकताकै बलमा मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारे । देशप्रेमको निष्ठाबाट कहिल्यै विचलित नभई भावी पुस्तामा पनि राष्ट्रभक्तिको भावना जागृत गराउँदै अघि बढ्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले सुशासन कायम गर्दै भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्नु नै वीर पुर्खाप्रतिको सच्चा सम्मान हुने बताए । भीमसेन थापाको दृढ देशभक्तिका कारण नै नेपाल अङ्ग्रेजसामु नझुकी स्वतन्त्र रहन सफल भएको स्मरण पनि उनले गराए ।


