Banijya News

सूर्य नेपालको वार्षिक कारोबार ३२ अर्ब ३५ करोड बढी

1
1.0K Shares

नेपालको सबैभन्दा ठूलो उत्पादनमूलक कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको विशाल कारोबार गरेको छ। अघिल्लो वर्ष सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले यो वर्ष कारोबारमा ठूलो फड्को मारेको हो।

कारोबार रकममा उल्लेख्य वृद्धि भए तापनि समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा र खुद मार्जिन भने लगभग स्थिर नै रहेको देखिन्छ। वित्तीय व्यवस्थापनका हिसाबले कम्पनी अत्यन्तै मजबुत र सुरक्षित अवस्थामा रहेको छ। हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा नलिएको यस कम्पनीको दायित्व केवल लिज दायित्वमा मात्र सीमित छ, जसले गर्दा यसको गियरिङ अनुपात ०।०१ गुणा जस्तो अत्यन्तै न्यून छ।

यसबाहेक, कम्पनीसँग ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ ट्रेजरी बिल र २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दातका रूपमा पर्याप्त सम्पत्ति छ भने यसले सेयरधनीहरूलाई नियमित लाभांश दिँदै आएको छ।

सन् १९८६ देखि व्यावसायिक यात्रा सुरु गरेको यस कम्पनीमा ६१ प्रतिशत सेयर स्वामित्व भारतीय बहुराष्ट्रिय कम्पनी आइटीसी लिमिटेडको छ भने बाँकी ३९ प्रतिशत स्वामित्व नेपाली संस्था तथा व्यक्तिगत सेयरधनीहरूको रहेको छ। सञ्जीव पुरी अध्यक्ष रहेको यस कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ। लामो समयदेखि सबल वित्तीय स्थिति कायम राख्दै आएको यो कम्पनी नेपाली औद्योगिक क्षेत्रको एउटा प्रमुख खम्बाको रूपमा स्थापित छ।

चार दशकदेखि उत्पादन क्षेत्रमा सक्रिय सूर्य नेपालले मुख्यगरी चुरोट, अगरबत्ती र प्याकेज्ड फुड उत्पादन गर्दै आएको छ। कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, शिखर, खुकुरी, बिजुली र चौतारी जस्ता लोकप्रिय ब्रान्डका चुरोटहरू बजारमा बिक्री गरिरहेको छ। साथै, सूर्य नेपाल भेन्चर्स प्रालिमार्फत अगरबत्ती उत्पादन गर्नुका साथै कम्पनीले हालै उच्च गुणस्तरको ुमारानीु ब्रान्डको मह वैदेशिक बजारमा निर्यात गर्नसमेत सुरु गरेको छ।

1

Scroll to Top