Banijya News

सूर्य नेपालको फड्को आम्दानी ३२.३५ अर्ब पुग्यो ३.५३ अर्बले व्यापारमा वृद्धि

1
1.0K Shares

नेपालको अग्रणी निजी उत्पादनमूलक उद्योग सूर्य नेपाल प्रालिले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख आम्दानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँले व्यापार बढाएको हो।

बलियो ब्रान्ड उपस्थिति, अनुभवी व्यवस्थापन र सुदृढ वित्तीय आधारकै कारण केयर रेटिङ नेपालले कम्पनीको ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंक कर्जाका लागि ुकेयर एनपी ए१ प्लसु रेटिङलाई पुनः पुष्टि गरेको छ। भारतको चर्चित कम्पनी आईटीसी लिमिटेडको ६१ प्रतिशत सेयर स्वामित्व रहेको सूर्य नेपालले प्राविधिक, व्यवस्थापकीय र अनुसन्धानको क्षेत्रमा माउ कम्पनीबाट ठूलो सहयोग पाउँदै आएको छ।

वित्तीय दृष्टिकोणबाट सूर्य नेपाल अत्यन्तै मजबुत अवस्थामा छ। कम्पनीमा दीर्घकालीन ऋणको भार शून्यप्रायः (गियरिङ अनुपात ०.०१) रहेको छ भने अर्बौँ रुपैयाँ नगद, बैंक निक्षेप र ट्रेजरी बिल मौज्दातका साथ नियमित लाभांश वितरण गर्दै आएको छ। यद्यपि, कम्पनीको आम्दानीको ठूलो हिस्सा चुरोट व्यवसायमै सीमित हुनुलाई प्रमुख कमजोरीका रूपमा हेरिएको छ। अगरबत्ती तथा खाद्यान्न उत्पादनमा संलग्न भए पनि तिनको योगदान न्यून छ। यसै जोखिमलाई कम गर्न कम्पनीले होटल क्षेत्रमा प्रवेश गर्ने रणनीति बनाएको छ, जसलाई हालको बलियो नगद प्रवाहले सहजै धान्न सक्ने अनुमान गरिएको छ।

कम्पनीको दीर्घकालीन व्यावसायिक निरन्तरताका लागि भने केही चुनौतीहरू विद्यमान छन्। नेपालमा सुर्तीजन्य पदार्थमाथि निरन्तर बढाइएको करको दर र कडा नियामकीय व्यवस्थाहरू मुख्य जोखिमका रूपमा रहेका छन्। विशेषगरी, चुरोटको बट्टामा ९० प्रतिशत भाग स्वास्थ्य चेतावनीले ढाक्नुपर्ने कानुनी प्रावधान र बढ्दो करका कारण कानुनी उत्पादन महँगो हुँदा उपभोक्ताहरू कर छलिएका वा अवैध विदेशी चुरोटतर्फ आकर्षित हुने खतरा बढेको छ। यसले स्वदेशी बैधानिक उद्योगको नाफा र बजार हिस्सामा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ।

४० वर्षभन्दा बढीको इतिहास बोकेको सूर्य नेपालले देशभर फैलिएको फराकिलो वितरण सञ्जालमार्फत बजारमा आफ्नो पकड बलियो बनाएको छ। सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, शिखर, खुकुरी, नौलो, पल्स, बिजुली र चौतारी जस्ता लोकप्रिय ब्रान्डहरूमार्फत कम्पनीले नेपाली उपभोक्तामाझ छुट्टै पहिचान बनाएको छ। करको उच्च भार र कडा नियमनका बाबजुद कम्पनीले आफ्नो उत्कृष्ट वित्तीय अनुशासन र रणनीतिक विस्तारका माध्यमबाट बजार नेतृत्वलाई निरन्तरता दिइरहेको छ।

सूर्य नेपाल प्रालि सन् १९८६ मा स्थापना भएको नेपालको एक प्रमुख तथा ठूलो निजी क्षेत्रको उत्पादनमूलक कम्पनी हो। यसमा भारतको अग्रणी आईटीसी लिमिटेडको ६१ प्रतिशत स्वामित्व रहेको छ। मुख्यतया चुरोट उत्पादनमा अग्रणी रहेको यो कम्पनी अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्यान्न उत्पादन र बिक्री–वितरणमा पनि संलग्न छ। चार दशक लामो व्यावसायिक अनुभव, सुदृढ वित्तीय अवस्था र फराकिलो बजार सञ्जाल रहेको यो कम्पनी नेपालकै सबैभन्दा बढी कर तिर्ने र सफल उद्योगहरूमध्ये पर्दछ।

1

Scroll to Top