अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको शेयर बजारलाई एसिया महादेशमै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेका छन । नेपाल धितोपत्र बोर्डको हालैको निरीक्षण भ्रमणका क्रममा उनले राष्ट्र बैंकको जस्तै गहन र संवेदनशील जिम्मेवारी बोर्डको काँधमा रहेको स्पष्ट पारे । साथै, लगानीकर्ताहरूको उच्च अपेक्षालाई मध्यनजर गर्दै कुनै पनि विचलित नभई उनीहरूको सम्पत्ति संरक्षण गर्न बोर्ड नेतृत्वलाई कडा निर्देशसमेत दिए ।
नयाँ नेतृत्वसँगै बजारमा देखिएको सकारात्मक ऊर्जा र दीर्घकालीन सोचको अर्थमन्त्रीले खुलेर प्रशंसा गरे। नियमनकारी कानुन र नीतिहरू निर्माण गर्दा सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गरी साझा समझदारीका आधारमा मात्र कार्यान्वयनमा ल्याउनुपर्ने उनको जोड थियो। शेयर बजारका सबै हिस्सेदारहरूलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गर्दै उनले मन्त्रालयको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा बोर्डका नवनियुक्त अध्यक्ष डा। गोपाल भट्टले पूँजीबजारको समग्र विकासका लागि एउटा ठोस ’ब्लूप्रिन्ट’ तयार गरी काम सुरु भइसकेको जानकारी गराए। उनले आगामी साउन महिनाभित्रै आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पार्ने र भदौ महिनादेखि आवश्यक परामर्श पश्चात् ती व्यवस्थाहरू कार्यान्वयनमा ल्याउने योजना प्रस्तुत गरे ।


