नेपाल धितोपत्र बोर्ड र गैर-आवासीय नेपाली (एनआरएन) का प्रतिनिधिहरूबीच धितोपत्र बजारमा गैर-आवासीय नेपालीहरूको सहभागिता र लगानीको सम्भावनाबारे आज बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सरकारको बजेट वक्तव्य अनुरूप नै एनआरएनहरूलाई दोस्रो बजारमा जोड्न कानुनी सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिए। साथै, आगामी आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिमा समेत यसलाई प्राथमिकताका साथ समेटिने उनको भनाइ थियो।
अध्यक्ष डा. भट्टले विदेशमा बस्ने नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई देशको पूर्वाधार विकासमा उपयोग गर्न बोर्डले आवश्यक पर्ने सम्पूर्ण कानुनी तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा सहभागी एनआरएन प्रतिनिधिहरूले सरकार र बोर्डको यस्तो सकारात्मक पहलले विदेशमा रहेका नेपालीहरूका लागि लगानीको अनुकूल वातावरण बन्दै गएकोमा खुसी व्यक्त गरे। उनीहरूले यस कदमलाई स्वागत गर्दै नेपालको विकासमा अर्थपूर्ण सहभागिता जनाउने प्रतिबद्धता समेत दोहोर्याएका छन्।
सोही अवसरमा एनआरएन प्रतिनिधिहरूले नेपाल सरकार र गैर-आवासीय नेपालीहरूको संयुक्त लगानीमा स्थापित ‘इन्भेष्टमेन्ट कम्पनी’ मार्फत छिट्टै साधारण शेयर जारी गर्ने योजना रहेको खुलासा गरे। उक्त कम्पनीमार्फत विदेशमा रहेका नेपालीहरूबाट पुँजी संकलन गरी ठूला भौतिक पूर्वाधार परियोजनाहरूमा लगानी गर्ने र भविष्यमा विभिन्न बण्ड तथा डिबेन्चर जारी गरी थप रकम जुटाउने उनीहरूको योजना छ। यद्यपि, यी योजनाहरूलाई व्यावहारिक रूप दिन विद्यमान कानुनी जटिलताहरू तत्काल फुकाउनुपर्नेमा उनीहरूले बोर्डसँग विशेष आग्रह गरेका छन्।


