काभ्रेपलाञ्चोकको धुलिखेलस्थित खावामा सञ्चालित ऐतिहासिक ‘धुलिखेल माउन्टेन रिसोर्ट’ले आफ्नो सेवा र क्षमता दुवै विस्तार गर्ने भएको छ । वि।सं। २०४० सालदेखि सञ्चालनमा रहेको यस रिसोर्टलाई २०८० सालमा नयाँ व्यवस्थापनले खरिद गरेको थियो । हालको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार रिसोर्टले आफ्ना भौतिक संरचना तथा सेवाहरू थप व्यवस्थित र अत्याधुनिक बनाउन ठूलो परिमाणमा लगानी थप्ने तयारी गरेको छ ।
क्षमता विस्तारको योजना अन्तर्गत रिसोर्टले हाल रहेको ९० बेडको क्षमतालाई बढाएर १७० पुर्याउने लक्ष्य लिएको छ । यसका लागि रिसोर्टले थप ८० वटा बेड र ४० वटा कोठासहित कुल २१ वटा नयाँ भौतिक संरचना निर्माण गर्नेछ, जसमध्ये २० वटा लक्जरी भिल्ला र एक मुख्य ब्लक रहनेछन् । कोठा तथा बेड थप गर्ने यो सम्पूर्ण निर्माण कार्य सुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नयाँ संरचनाहरूको निर्माणसँगै रिसोर्टमा पर्यटकको आकर्षणका लागि थप अत्याधुनिक सुविधासमेत जोडिने भएका छन् । यस योजना अन्तर्गत ६ सय जनासम्म अट्ने क्षमताको ब्याङ्क्वेट हल, स्विमिङ पुल, अत्याधुनिक स्पा, जिमहल र अन्तर्राष्ट्रियस्तरको क्यासिनो ब्लक निर्माण गरिनेछ । साथै, आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै ४० वटा चार पाङ्ग्रे र ८० वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने पर्याप्त व्यवस्था मिलाइएको छ ।
यो क्षमता विस्तारको परियोजना सम्पन्न हुँदा रिसोर्टको कुल पुँजीगत लगानी ४० करोडबाट बढेर १ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । जसमा ७५ प्रतिशत अर्थात् ८७ करोड ७५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् २९ करोड २५ लाख रुपैयाँ प्रवर्द्धकहरूले स्वपुँजी ९इक्विटी० का रूपमा लगानी गर्नेछन् । यो सम्पूर्ण लगानी १५ वर्षभित्र फिर्ता हुने आर्थिक प्रक्षेपण गरिएको छ ।


