नेपाल धितोपत्र बोर्ड ले सेयरको सार्वजनिक निष्काशन प्रक्रियालाई अझ पारदर्शी, जिम्मेवार र भरोसायोग्य बनाउन नयाँ कदम चालेको छ। यसै क्रममा बोर्डले आफ्नै कार्यालयमा मर्चेन्ट बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकारीहरूका लागि ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी एक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी २०८३ वैशाख १ गतेदेखि लागू हुने यो मापदण्डले सेयर जारी गर्ने कम्पनीहरूको वित्तीय विवरणको गुणस्तर सुधार्ने र वित्तीय सुशासन कायम गर्ने लक्ष्य राखेको छ।
उक्त कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नीतिगत सुधारका काम भइरहेको जानकारी दिए । उनले प्राथमिक बजारमा ठूलो सुधार ल्याउन बोर्डले चाँडै ‘प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र’ल्याउने तयारी गरिरहेको समेत बताए । सो श्वेतपत्रले लगानीकर्ताको हित जोगाउन र प्राथमिक बजारमा गुणात्मक परिवर्तन ल्याउन विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अध्यक्ष भट्टले प्राथमिक बजारको विकासमा मर्चेन्ट बैंकरहरूको भूमिका निकै महत्त्वपूर्ण हुने भन्दै उनीहरूलाई बजारप्रति अझ बढी जिम्मेवार बन्न र लगानीकर्ताको हकहित संरक्षणमा जोड दिन आग्रह गरे । नयाँ मापदण्ड लागू भएसँगै आइपीओ जारी गर्ने कम्पनीहरूको वित्तीय अवस्था र संस्थागत सुशासन थप बलियो हुने उनको विश्वास थियो। करिब ६५ जना प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा मर्चेन्ट बैंकरहरूले उठाएका विविध जिज्ञासाको जवाफ बोर्डका प्रतिनिधिहरूले दिएका थिए।
कार्यक्रममा बोर्ड सदस्य तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले नयाँ मापदण्डको प्राविधिक पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मापदण्ड ल्याउनुको मुख्य उद्देश्य, यसको कार्यान्वयन विधि र फाइदाहरूबारे विस्तृत जानकारी दिँदै पेश गरिएका वित्तीय विवरणहरूको विश्वसनीयता जाँच्न यो नयाँ व्यवस्था कोशेढुङ्गा बन्ने बताए । यो कार्यक्रमले नयाँ मापदण्ड कार्यान्वयन गर्न सहज हुने र पूँजी बजारप्रति सर्वसाधारणको विश्वास अझ बढेर जाने अपेक्षा गरिएको छ।


