रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो। प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसा मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ। यसअनुसार बिक्रीमा राखिएको सेयरको कुल मूल्य करिब ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबर रहेको छ।
कम्पनीका अनुसार उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीबाट १०० रुपैयाँ शुल्क तिरेर आवेदन फाराम खरिद गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गर्दै गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा बाँकी सेयर संस्थापकबाहेक अन्य योग्य लगानीकर्तालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


