आज मंगलबार बिहान १० बजे सिंहदरबारमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकसमक्ष प्रस्तुत गर्नेछिन्।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने छिन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका तर्फबाट ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
प्रतिनिधिसभाको मुख्य बैठकका साथै संसद्का विषयगत समितिहरू पनि आज सक्रिय रहनेछन्। कार्यसूचीअनुसार आजै अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने तय भएको छ।

