नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले बालेनको सक्रियतालाई देशको वर्तमान आवश्यकतासँग जोड्दै नयाँ र वैकल्पिक राजनीतिक शक्तिको उदयको सङ्केतका रूपमा चित्रण गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खरेलले बालेनको नेतृत्वमा सङ्गठित रूपमा राजनीति अगाडि बढ्नु समयको माग भएको बताएका छन्। खरेलका अनुसार बालेनले स्थानीय तहमा प्रदर्शन गरेको कार्यशैली, स्पष्ट दृष्टिकोण र निर्भीक निर्णय क्षमताले परम्परागत राजनीतिक धारबाट वाक्क भएका जनतामा ठुलो आशा जगाएको छ।
उनले बालेनको पहलले जिम्मेवार र जनउत्तरदायी राजनीतिको जग बसाल्ने विश्वास व्यक्त गरेका छन्। राजनीतिलाई केवल पदमा पुग्ने माध्यम नभई परिणाममुखी बनाउन बालेनको भूमिका महत्त्वपूर्ण हुने खरेलको ठम्याइ छ।
खरेलले बालेनको नेतृत्वमा पार्टीमार्फत सङ्गठित भएर अघि बढ्ने विषयमा भइरहेका बहसहरूलाई जायज ठहर्याएका छन्। यसले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई थप बल पुर्याएको र पुराना शक्तिहरूलाई चुनौती दिने सामर्थ्य राख्ने विश्लेषण गरिएको छ।


