नेपाली काँग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा पार्टीका नेताहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्म लाभका पद लिन कार्यकालको सीमा तोक्नुपर्ने उल्लेख छ ।
शर्माले १, २, ३ र ४ को फर्मुला बनाउनुपर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक मात्र सांसद बन्न पाउने विषय राखिएको छ । उनले यो विषयलाई पार्टीको विधान महाधिवेशनमा पनि प्रस्ताव गरेका थिए । तर, पारित हुन सकेको थिएन ।
साथै, सांगठनिक प्रतिवेदनमा पार्टीका हरेक कमिटीमा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समावेश छ । केन्द्रदेखि वडासम्मै ३० वर्षमुनि र ३० देखि ४० वर्ष उमेर समूहका युवालाई क्लस्टर नै तोकेर प्रतिनिधित्व सुनिश्चित गर्ने विषय प्रतिवेदनमा उल्लेख छ । दुवै उमेर समूहबाट केन्द्रमा २०–२०, प्रदेशमा १०–१०, जिल्ला, क्षेत्र र पालिकामा ६–६ तथा वडामा ४–४ जनाको प्रतिनिधित्व सुनिश्चित हुने भनिएको छ ।
पदाधिकारीको संरचनालाई यथावत् छाडिए पनि विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा भने छुट्टै संरचना प्रस्ताव गरिएको छ । प्रत्येक देशको वर्तमान र पूर्व अध्यक्ष मध्येबाट २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क परिषद् रहने उल्लेख छ ।
साथै, पार्टीमा सोझै प्रवेश गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव पनि राखिएको छ । यसअघि काँग्रेसमा तल्ला कमिटीहरूबाट अगाडि बढ्दै नेता बन्ने पद्धति मात्र रहेकोमा अब विभिन्न पेशा–व्यवसाय वा बुद्धिजीवीहरूबाट योग्य व्यक्तिहरूलाई सिधा ‘इन्ट्री’को व्यवस्था गर्न लागिएको हो ।


