Banijya News

विशेष महाधिवेशन भइरहँदा के गर्दैछन् देउवा ?

1
1.1K Shares

अहिले भृकुटीमण्डपमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन चलिरहेको छ । उक्त महाधिवेशन काँग्रेसको नयाँ नेतृत्व चयनतर्फ अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनी परामर्श थालेका छन् ।

बहुमत प्रतिनिधि विपक्षमा देखिएपछि वैधानिक संकट उत्पन्न भएको भन्दै देउवाले आफ्ना निकट नेता र कानुनविद्हरुसँग छलफल गरेका हुन् । महाधिवेशनमा केन्द्रीय कार्यसमिति भंग गरी नयाँ कार्यसमिति चयनको प्रस्ताव अघि बढाइएको छ ।

निजी निवास महाराजगन्जमा देउवाले शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेतालाई राखेर कानुनी परामर्श थालेका छन् । देउवाले बोलाएको बैठकमा पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती नेतृत्वमा कानुनविद्हरु पुगेका छन् । अर्का कानुनविद् योगेन्द्रबहादुर कार्की पनि सहभागी भएको स्रोतले जानकारी दिएको छ । बैठकमा शेखर पक्षका मीनेन्द्र रिजाल, जीवन परियार लगायतका नेता सहभागी भएका छन् ।

काँग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हिजो आइतबारदेखि काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत अहिले भृकुटीमण्डपस्थित हलमा बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेस गरेका छन् भने अर्का महामन्त्री थापाले पनि राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

बन्दसत्रले पारित विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ । जसमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्ताव र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन लगायतका व्यवस्था छन् ।

उक्त कार्यविधिमा उल्लेख भएअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्नेछन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ को निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ ।

1

Scroll to Top