नेकपा एमालेकी नेतृ एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महतोले जनकपुरलाई ‘वैवाहिक गन्तव्य’ बनाउन उम्मेदवारी दिएको बताएकी छन्। चुनावी प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रका ३८ वटै वडाका मतदातासँग भेटघाट गर्दै उनले अघिल्लो कार्यकालमा शुरु भएका ठूला आयोजनालाई निष्कर्षमा पुर्याउनु आफ्नो मुख्य लक्ष्य रहेको बताइन्।
उम्मेदवार महतोले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा जनकपुरधाम चक्रपथ (रिङ रोड)लाई अगाडि सारिन्। त्यसैगरी माता सीता र भगवान् रामको स्वयंवर भएको पवित्र भूमिलाई विश्वकै प्रमुख ‘विवाह गन्तव्य’का रूपमा विकास गर्ने योजना उनले बताइन्। न्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनमा ल्याउन अध्ययन समिति बनेको जानकारी दिँदै उनले यसलाई रोजगारीको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले मधेश प्रदेशमा सिँचाइका साथै खानेपानीको दीर्घकालीन समाधानका लागि कोशी नदीको पानी विस्तार गर्नुपर्नेमा जोड दिइन्।
अरू उम्मेदवारहरू चुनावका बेला मात्रै आउने र आफू वर्षको ४०–४५ दिन जनताकै घरदैलोमा बिताउने गरेको र समस्या बुझेर काम गर्ने गरेको बताइन्। महतोले भनिन्‚‘एउटा मेरो सपना थियो, जनकपुरधाममा एउटा चक्रपथ बनाउने झन्डै ३२.७ किलोमिटरको डिपीआर तयार गरेका थियौँ। दोस्रोमा माता सीता र रामको स्वयंवर भएको नगरमा विश्वमा यो चिजको मान्यता रहेको छ। पर्यटन क्षेत्रको रूपमा विस्तार गरी ‘वैवाहिक गन्तव्य’को रूपमा विस्तार गर्नेछौँ।’ जनकपुरको १२ बिघाको सौन्दर्यीकरण, रामजानकी रङ्गशालाको निर्माण र वडा स्तरसम्म खेलकुद मैदानको विस्तार आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरिन्।


