प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना सम्पन्न भएको छ। इलाम–१ को समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै मतगणना प्रक्रिया सकिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इलाम–१ क्षेत्रको मतगणना भर्खरै सकिएपछि समानुपातिकतर्फको समग्र मतगणना सम्पन्न भएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ विभिन्न राजनीतिक दलले प्राप्त गरेको कुल मत र सिटको आधिकारिक विवरण निर्वाचन आयोगले केही समयमै सार्वजनिक गर्ने जनाएको छ। आयोगका अनुसार सबै क्षेत्रबाट मतपरिणाम प्राप्त भइसकेकाले दलहरूले पाउने समानुपातिक सिटको अन्तिम हिसाब मिलाउने काम भइरहेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि दलहरूले समानुपातिकतर्फ प्रतिनिधिसभामा पाउने सिट संख्या स्पष्ट हुने आयोगले जनाएको छ।


