Banijya News

विवादमा मुछिएका पूर्वगृहमन्त्री गुरुङबारे छानबिन सकियो, अब के हुन्छ ?

1
1.0K Shares

पूर्वगृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका विषयमा छानबिन पूरा भइसकेको छ । समितिलाई दिइएको कार्यादेशअनुसारको काम सम्पन्न भएकाले आजै प्रतिवेदन बुझाउन लागिएको स्रोतले जनाएको छ । प्रतिवेदनमा दोषी वा निर्दोष जे भए पनि प्रमाणका आधारमा स्पष्ट निष्कर्षसहित राय प्रस्तुत गरिएको बताइएको छ ।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् । समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो । रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन् । अब समितिको प्रतिवेदन सार्वजनिक भएपछि यसमा सरकारको आगामी निर्णय र कदम के होला भन्ने आम चासो बढेको छ ।

1

Scroll to Top