May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

मुद्रास्फीति ७.७४%, आयात १६.१% र निर्यात २१.४ % ले घट्दा देशको आर्थिक अवस्था कस्तो ?

मुद्रास्फीति ७.७४%, आयात १६.१% र निर्यात २१.४ % ले घट्दा देशको आर्थिक अवस्था कस्तो ?

नेपाल राष्ट्र बैंक बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंक बैंकले देशको आर्थिक वर्ष २०७९–८० को वार्षिक तथ्याङ्क सार्वजनिक गरेको हो । विवरण अनुसार वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो। शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

Advertisement

विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।

Advertisement

विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयातमा आकर्षक वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स आयात भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो । २०८० असार महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार महिनामा यस्तो सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको थियो ।

२०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७२९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।

२०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति दुई खर्ब ७१ अर्ब ३४ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति चार खर्ब ८६ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति दुई खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ रहेकोमा आव २०८०/८१ मा यस्तो खर्च १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थावापतको खर्च क्रमशः १० खर्ब पाँच अर्ब ७६ करोड, दुई खर्ब ३३ अर्ब ७० करोड र एक खर्ब ९० अर्ब ११ करोड रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने एक खर्ब १५ अर्ब नौ करोड साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा एक खर्ब ४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।

२०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप नौ प्रतिशतले बढेको थियो ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० असार मसान्तमा एक अर्ब ५० करोड लगानीमा रहेको छ । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९७ अर्ब ६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड रुपैयाँ कर्जा रहेको छ । महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७१० ऋणीको दुई अर्ब ९१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।२०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । जसमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, ६ लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो ।

गत आर्थिक वर्ष नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको थियो । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुबीच ३९ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच तीन खर्ब ५२ अर्ब सात करोड रुपैयाँ गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच २७ खर्ब ८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरुबीच तीन खर्ब १६ अर्ब २५ करोड रुपैयाँ गरी कुल ३१ खर्ब ३५ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १० हजार ५२८ रहेकोमा २०८० असार मसान्तमा ११ हजार ५८९ पुगेको छ । २०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या दुई हजार ५३२ रहेकोमा २०८० असार मसान्तमा दुई हजार ५१७ कायम भएको छ ।