बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बैठकले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने निर्णय गरेको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब कायम छ ।
यता, निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउनुपर्ने भएको छ । हाल निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ कायम छ ।
समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुरा गर्नका लागि २०७९ चैत मसान्तसम्मको म्याद दिएको छ । यस अवधिमा बीमा कम्पनीहरुले बोनस, हकप्रद शेयर र मर्जर मार्फत पुरा गर्न पाउने अध्यक्ष सिलवालले जानकारी दिए ।
समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई ३० दिन भित्र तोकिएको न्युनतम चुक्ता पूँजी जुटाउन क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । कम्पनीहरु सँग सुरुमा क्यापिटल प्लान माग गरिएको र त्यस पछि मात्रै के गर्ने भन्ने विषयमा निर्देशन दिइन भएको छ ।
उक्त समयमा निर्धारित पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने छ ।
विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नु पर्ने भएको छ । त्यस्तै, संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्ने व्यवस्था गरिएको छ ।


