नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो ।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो । पेसीमा आजै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेले बताए । त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।


