राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताएका छन्।
सोमवार शितल निवासमा टी–२० विश्व कपको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले टी–२० विश्व कपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे।
नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको बताए। क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भुमिका निर्वाह गरेको पनि बताए। नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।


