Banijya News

घट्यो २८ प्रतिशतले राजस्व संकलन, सरकारलाई स्रोत जुटाउनै दबाब

1
1.1K Shares

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिनामा आन्तरिक राजस्व संकलनमा गिरावट देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार ७ पुससम्मको अवधिमा कुल आन्तरिक राजस्व संकलन २७.९० प्रतिशतले घटेर एक खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा भने कर संकलन १० प्रतिशतले वृद्धि हुँदै दुई खर्ब ७१ अर्ब ९१ करोड रुपैयाँ पुगेको थियो । त्यसअघि ८०/८१ मा सोही अवधिमा दुई खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

तर, यस वर्ष धेरै राजस्व संकलन हुने भ्याट, आयकर र अन्त:शुल्क असुली नै घट्दा समग्र आय प्रभावित भएको हो । धेरै राजस्व प्राप्त हुनेमध्येको एक संस्थागत आयकर संकलन मात्रै अघिल्ला दुई आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.५९ प्रतिशत असुली घटेको आन्तरिक राजस्व विभागको तथ्यांक छ ।

त्यस्तै, व्यक्तिगत आयकर २६.९२ प्रतिशत, लगानी आयकर ३०.१८ प्रतिशत, मूल्य अभिवृद्धि कर (भ्याट) ११.८१ प्रतिशत, अन्त:शुल्क ६.९४ प्रतिशत र स्वास्थ्य सेवा कर २१.६८ प्रतिशत घटेको विभागको तथ्यांक छ । तर, शिक्षा शुल्कमा ०.४८ प्रतिशत र अन्य कर संकलनमा ३.३९ प्रतिशतको सुधार छ ।

सरकारी स्वामित्वका संस्थानबाट उठ्ने आयकर तीन वर्षयता लगातार घटेको छ । आर्थिक वर्ष ०८०/८१ मा ७ पुससम्म चार अर्ब ३९ करोड संकलन भएकोमा आव ०८१/८२ को सोही अवधिमा घटेर तीन अर्ब ५८ करोडमा सीमित भयो । चालू आव ०८२/८३ मा ७ पुससम्म झन् घटेर एक अर्ब १८ करोड रुपैयाँ मात्र संकलन भएको विभागको तथ्यांक छ ।

पब्लिक लिमिटेड कम्पनीबाट संकलन हुने आयकरमा झन् ठुलो गिरावट (८४.३९ प्रतिशत कम) देखिएको छ । आर्थिक वर्ष ०८०/८१ को ७ पुससम्म ४० अर्ब ५८ करोड रुपैयाँ उठेको यस शीर्षकमा अघिल्लो वर्ष २६ अर्ब २५ करोडमा खुम्चिएको थियो । चालू आवको ७ पुससम्म भने चार अर्ब नौ करोड रुपैयाँ उठेको छ ।

निजी कम्पनीहरूबाट उठ्ने आयकरमा भने अघिल्लो वर्षसम्म सुधार देखिएको थियो, तर यस वर्ष घटेको छ । ०८०/८१ को ७ पुससम्म १७ अर्ब तीन करोड र ०८१/८२ मा २३ अर्ब ४२ करोड संकलन भएको निजी कम्पनीतर्फको आयकर चालू वर्ष ०८२/८३ को ७ पुससम्म आठ अर्ब ४१ करोड रुपैयाँमा मात्रै संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६४.०८ प्रतिशतले गिरावट हो ।

1

Scroll to Top