कोशी प्रदेशमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) ले उल्लेखनीय प्रगति हासिल गरेको छ। परियोजनालाई दिगो पर्यटन प्रवर्द्धनमार्फत प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित परियोजनाको तेस्रो परियोजना निर्देशक समिति बैठक बुधबार सम्पन्न भएको हो । पर्यटनमन्त्री भीम पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपालका लागि स्विस राजदूत डा. डानीयेल म्युवलीको विशेष उपस्थिति रहेको थियो ।
नेपाल र स्विट्जरल्यान्ड सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको परियोजना हाल कोशीका आठ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ। हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजना स्थानीय तहसँगको सहकार्यमा अघि बढिरहेको छ ।
परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु रहेको छ । करिब २ अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना २०८५ साउनसम्म सञ्चालन हुनेछ ।
परियोजना अन्तर्गत चियाबारी, फाल्गुननन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेका छन् । करिब चार सय किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म चार सय ५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ । गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकोमा यस वर्ष एक सय ३२ किलोमिटर निर्माण भइरहेको छ भने आगामी वर्ष दुई सय ३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ ।
परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ । साथै, सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाइएको जनाइएको छ ।
भौतिक पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन, बजारीकरण, ब्रान्डिङ तथा नीति सुधारमा पनि परियोजनाले काम गरिरहेको छ । मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएको छ ।
बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्ययोजना पारित गर्दै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।
मुख्यमन्त्री कार्कीले परियोजनाले प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।


