Banijya News

सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको विश्व कीर्तिमान

1
1.0K Shares

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणमा दुई नेपाली आरोहीले विश्व कीर्तिमान कायम गरेका छन् । आरोही कामिरिता शेर्पाले पुरुषतर्फ र आरोही लाक्पा शेर्पाले महिलातर्फ धेरैपटक सगरमाथा आरोहणको विश्व कीर्तिमान बनाएका हुन् । आफ्नै रेकर्ड तोड्दै कामिरिताले ३२औँपटक र लाक्पाले ११औँपटक सगरमाथाको चुचुरो चुमेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुरगेल्जे शेर्पाले बताए ।
५६ वर्षीय कामिरिताले आइतबार बिहान १०ः१२ बजे सगरमाथाको शिखरमा पुगेर ऐतिहासिक रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

त्यस्तै, लाक्पाले बिहान ९ः३० मा सगरमाथाको शिखरमा पुगेर ऐतिहासिक रेकर्ड बनाइन् । माउन्टेन क्विन उपनामले परिचित लाक्पाले सन् २००० देखि सगरमाथा आरोहण सुरु गरेकी थिइन् । सन् १९७३ मा संखुवासभाको मकालु– २ मा जन्मिएकी लाक्पाले एउटा गौरवपूर्व अध्याय थपेकी  छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ५६ वर्षीय कामिरिताले पहिलोपटक १३ मे १९९४ मा सगरमाथाको चुचुरो चुमेका थिए, त्यतिवेला उनी २४ वर्षका थिए । उनले एउटै सिजनमा दुई–दुईपटक सगरमाथाको सफल आरोहणसमेत गरेका छन् ।

सबैभन्दा बढी सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामिरिता आबद्ध सेभेन समिट ट्रेक्सले उनी संसारभरका पर्वतारोही र हिमालप्रेमीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेको छ । ‘कामिरिता शेर्पालाई परिचयको आवश्यकता छैन, उनी नेपालका राष्ट्रिय आरोहण नायक मात्र होइनन्, एभरेस्टकै विश्वव्यापी प्रतीक बनेका छन्,’ सेभेन समिटले सामाजिक सञ्जालमा लेखेको छ, ‘उनको सहस, अनुभव र निरन्तर सफलताले हरेक वर्ष पर्वतारोहण क्षेत्रलाई प्रेरित गरिरहेको छ ।’

यो सिजनका लागि सगरमाथा आरोहणका लागि चार सय ९२ जनाले अनुमति लिएका छन् । त्यसमा तीन सय ८७ जना पुरुष र एक सय पाँचजना महिला रहेका छन् । आइतबार ८३ जनाले सगरमाथाको सफल आरोहण गरेको एनएमएका अध्यक्ष शेर्पाले जानकारी दिए ।

1

Scroll to Top