दार्चुला जिल्लाको मार्मा गाउँपालिका–२ मा निर्माणाधीन २८.३ मेगावाट क्षमताको मध्य–चमेलिया जलविद्युत् आयोजनामा अब ऋण लगानीको टुंगो लागेको छ। दार्चुला पावरद्वारा प्रवर्द्धित सो आयोजना नेपाल बैंक लिमिटेडको अगुवाइमा नबिल बैंकको सह-लगानीमा अघि बढ्ने भएको हो।
बुधवार भएको वित्तीय व्यवस्थापन सम्झौताअनुसार, कुल ५ अर्ब ६६ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजनामा ७५ प्रतिशत अर्थात् ४ अर्ब २४ करोड ५ लाख रुपैयाँ ऋण लगानी हुनेछ। जसअनुसार नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ ऋण दिनेछन्।
दार्चुला पावरको २५ प्रतिशत स्वपुँजी रहनेछ। कम्पनी अपि पावर कम्पनीको सहायक संस्था हो। सम्झौतामा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रका लगानीकर्तालाई जलविद्युत् क्षेत्रमा निडर भएर लगानी गर्न आग्रह गरे। उनले भनिन्, “सरकारले सन् २०३५ सम्ममा १३ हजार ५०० मेगावाट विद्युत खपतको लक्ष्य लिएको छ। त्यसैले विद्युत बिक्री नहुने भय राख्नु जरुरी छैन।”
उनले आगामी आर्थिक वर्षको बजेटमा बिना सल्लाह राखिएको ‘टेक एन्ड पे’ व्यवस्थाको आलोचना गर्दै यसलाई तुरुन्त सच्याउनुपर्ने बताए। “यो ऊर्जा मन्त्रालयको प्रस्ताव नै होइन। राष्ट्रनिर्माणको अवधारणाविपरीत व्यवस्था हो,” मन्त्री खड्काले भने।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडुले पनि निजी क्षेत्रको लगानीले जलविद्युत विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। उनले भने, “नलगाड आयोजनाको समयमा सम्पन्न हुँदा नेपाल विद्युत प्राधिकरणका आयोजनालाई पनि दबाब परेको थियो। यस्तो उदाहरणबाट देखिन्छ कि इच्छाशक्ति भए सबै सम्भव छ।”
उनले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। अपि पावर कम्पनीका पूर्वअध्यक्ष गुरु प्रसाद न्यौपानेले सानो लगानीबाट सुरु गरेर अहिलेको अवस्थामा आइपुगेको अनुभव सुनाए। राष्ट्र बैंकबाट सेवा निवृत्त भइसकेपछि ऊर्जा क्षेत्रमा समर्पित रहेको उनले बताए। “हालसम्म हाम्रो कम्पनीले १०७ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिसकेको छ,” उनले भने।
निजी लगानीकर्तालाई बैंकहरूले कालोसूचीमा राख्ने प्रवृत्तिप्रति असन्तोष जनाउँदै उनले भने, “देश बनाउन लगानी गर्नुपर्छ, बैंकमा रकम राखेर मात्र देश बन्दैन।”
दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपानेले आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने जानकारी दिए। उत्पादित विद्युत नौ किलोमिटर दूरीमा रहेको बलाच सबस्टेसनमा जोडिनेछ। उनले डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपाल बैंकका सीईओ तिलकराज पाण्डेले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै ढिलाइ हुँदा लागत बढ्ने चेतावनी दिए।
दार्चुलाको भौगोलिक र सम्भाव्यताका दृष्टिले महत्वपूर्ण मध्य–चमेलिया आयोजनाले स्थानीय स्तरमा रोजगारी र राष्ट्रियस्तरमा ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ। सरकारले निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्दै लगानी मैत्री नीति अघि सारेमा यस्ता आयोजनाहरूले दिगो ऊर्जा विकासमा निर्णायक भूमिका खेल्न सक्छन्।


