ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहलमा नेपाल विद्युत् प्राधिकरणले ५४०.४७ मेगावाट क्षमताका २७ वटा जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेका आयोजनाहरूको वास्तविक स्थिति मूल्याङ्कन गर्दै प्राधिकरणले यो सहजीकरण गरेको हो। वास्तविक लगानीकर्ता र प्रवर्द्धकहरूलाई प्रोत्साहन गर्ने सरकारको नीतिको परिणाम स्वरूप यो कदम चालिएको हो।
यसअघि प्राधिकरण सञ्चालक समितिले गत असार ३२ गते स्पष्ट मापदण्ड बनाएर निर्माणका विभिन्न चरणमा रहेका कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो। जसमध्ये आवश्यक दायित्व पूरा गरेका ‘क’ समूह र प्रसारण लाइनको ढिलाइ, काबुबाहिरको परिस्थिति वा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका ‘ख’ समूहका आयोजनाहरूलाई आवश्यक प्रमाणका आधारमा म्याद थपको प्रक्रियामा लगिएको हो। हाल ८ हजार २९२ मेगावाट क्षमताका ३२० आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्।
मन्त्री श्रेष्ठका अनुसार सरकारले व्यक्तिगत तवरमा नभई स्पष्ट मापदण्ड र संस्थागत प्रणालीका आधारमा निर्णय गर्ने परिपाटी बसाल्न खोजेको छ। निजी क्षेत्रको लगानी सुरक्षा र आत्मसम्मानप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले प्रवर्द्धकहरूलाई पनि आफ्ना दायित्व समयमै पूरा गर्न आग्रह गरेका छन्। सरकार र निजी प्रवर्द्धकबीच आपसी उत्तरदायित्व कायम भएमा मात्रै देशको ऊर्जा क्षेत्रले गति लिने मन्त्रीको भनाइ छ।
म्याद थपिएका र विशेष गरी ‘ख’ समूहमा परेका आयोजनाहरूको प्राधिकरणको विद्युत् व्यापार विभागले नियमित अनुगमन गर्नेछ। आयोजनाहरूको प्रगति सन्तोषजनक नदेखिएमा वा आवश्यक परेमा बढीमा छ महिनाभित्र पुनः वर्गीकरण गर्न सकिने लचिलो व्यवस्था पनि गरिएको छ। यो निर्णयले लामो समयदेखि काम रोकेर बसेका र वास्तविक कारणले रोकिएका आयोजनाबीच स्पष्ट भिन्नता ल्याउँदै ऊर्जा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास लिइएको छ।


