सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्न आइतबार तयारी गरेका छन्। अधिकांश प्रदेशको बजेटको प्राथमिकता कृषि, भौतिक पूर्वाधार, पर्यटन, रोजगारी सिर्जना र सामाजिक सेवा सुधारमा केन्द्रित देखिन्छ। बजेटको आकार, विनियोजनको ढाँचा र सांसद विकास कोषमा रकम छुट्याउने नीति भने प्रदेशअनुसार फरक फरक छ।
कोशी प्रदेशले कृषि, पर्यटन र पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ३५ देखि ४० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आवमा कोशीले ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको थियो। सांसद विकास कोषका नाममा प्रत्यक्ष सांसदलाई दुई करोड र समानुपातिकलाई एक करोड ५० लाख विनियोजन गरिनेछ। चालू वर्षको तुलनामा यो रकममा वृद्धि भएको हो।
मधेश प्रदेश सरकारले भने चालू आवको ४३ अर्ब ८९ करोड रुपैयाँभन्दा कम गरी २९ अर्ब ७० करोड रुपैयाँको बजेट सिलिङ पठाएको छ। यद्यपि, संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतहरू पुष्टि भएपछि बजेटको आकार पुनः परिमार्जन हुने सम्भावना छ। समानीकरण अनुदान, राजस्व बाँडफाँट, अन्तःशुल्क, सशर्त अनुदान र विशेष अनुदानमार्फत करिब ६ अर्ब रुपैयाँ बजेट थपिने आधार तय गरिएको छ।
बागमती प्रदेशले चालू वर्षको ६४ अर्ब ५४ करोड रुपैयाँभन्दा ५ प्रतिशतले बढी बजेट ल्याउने तयारी गरेको छ। बजेटमा निजी क्षेत्रको आकर्षण, उत्पादन वृद्धिमा टेवा, नागरिक सेवाको विस्तार र कर संकलनलाई प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ। शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, रोजगारी, विपत् व्यवस्थापन जस्ता विषय पनि बजेटको प्राथमिकतामा छन्।
गण्डकी प्रदेशको बजेट अघिल्लो वर्षको तुलनामा करिब एक अर्ब रुपैयाँले घट्नेछ। सरकारले दोस्रो पञ्चवर्षीय योजनाअनुसार ‘आत्मनिर्भर र समुन्नत प्रदेश’ निर्माणको दिशामा बजेट केन्द्रित गर्ने जनाएको छ। उत्पादन र उत्पादकत्व वृद्धिदेखि रोजगारी सिर्जना र निजी क्षेत्रको साझेदारीमा आधारित विकास प्राथमिकता बन्नेछ।
लुम्बिनी प्रदेशले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर समृद्धिसँग जोडिएको बजेट ल्याउने तयारी गरेको छ। चालू आवमा ल्याएको ३८ अर्ब ९७ करोड रुपैयाँको बजेटभन्दा केही घटाइएको बजेट ल्याइने जनाइएको छ। यस पटक अर्थसम्बन्धी विधेयकसहित राजस्व र व्यय अनुमान प्रदेश सभामा प्रस्तुत गरिनेछ।
कर्णाली प्रदेशले चालू आवकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उत्पादनशील तथा रोजगारमूलक क्षेत्रहरू बजेटको केन्द्रमा छन्। तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान, तहगत सहकार्य, निजी क्षेत्रको सहभागिता र सामाजिक सेवा सुधारलाई बजेटले निरन्तरता दिनेछ।
सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधारलाई बजेटको प्रमुख प्राथमिकतामा राख्दै बजेटको करिब आधा हिस्सा यसै क्षेत्रमा विनियोजन गर्ने तयारी गरेको छ। बाँकी बजेट शिक्षा, स्वास्थ्य, कृषि र उद्योग/पर्यटनमा केन्द्रित गरिनेछ। प्रत्यक्ष सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई तीन करोड बराबरको बजेट विनियोजन गरिने तयारी छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
यसरी प्रदेश सरकारहरूले आ-आफ्नो क्षेत्रीय आवश्यकताअनुसार बजेट निर्माण गरी कार्यान्वयनका रणनीति तय गरिरहेका छन्। यिनले अबको नीति र बजेट कार्यक्रमले जनताको अपेक्षा कति पूरा गर्लान् भन्ने प्रश्न भने यथावत् रहन्छ।


