Banijya News

नेपालको बंगलादेश र भुटानसँगको व्यापार घाटा निरन्तर चुलिँदै

1
1.1K Shares

पूर्वीनाका काँकडभिट्टा हुँदै हुने बंगलादेश र भुटानसँगको नेपालको व्यापार निरन्तर घाटामा रहेको देखिएको छ। पछिल्ला समय यी दुई देशसँगको व्यापार बढ्दै गए पनि नेपालले निर्यात वृद्धि गर्न नसक्दा ठूलो नोक्सान व्यहोर्नुपरेको हो। चालू आर्थिक वर्षको ११ महिनामा नेपालले बंगलादेशसँग रु. ३.९१ अर्ब र भुटानसँग रु. १.२८ अर्बको व्यापार घाटा व्यहोरेको छ। दुवै देशबाट हुने आयात उल्लेखनीय मात्रामा बढेको छ, तर निर्यात त्यस अनुपातमा बढ्न नसक्दा वा बढेको अवस्थामा समेत वृद्धिदर न्यून हुँदा व्यापार घाटा चुलिएको सरकारी तथ्यांकले देखाउँछ।

बंगलादेशतर्फ नेपालको निर्यातमा भने सुधार आएको छ। जेठ मसान्तसम्ममा नेपालले बंगलादेशमा रु. ६१ करोड ८२ लाख ३७ हजार बराबरका वस्तु निर्यात गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. १९ करोड २८ लाख (४५.३%) ले बढी हो। उखुको खुदो, चिराइतो, चुथ्रो, अमलाजस्ता जडीबुटी र अम्रिसोको कुचोजस्ता सामग्रीहरू निर्यात हुने गरेका छन्। बंगलादेशमा उत्पन्न राजनीतिक परिस्थितिका कारण भारतबाट कम सामग्री निर्यात हुँदा नेपालबाट निर्यात केही बढेको व्यापारीहरू बताउँछन्। यद्यपि, बंगलादेशबाट ठूलो मात्रामा जुटको कच्चा पदार्थ, जुटको धागो, एनसीआर पेपर, मोबिल र चालू आर्थिक वर्षको वैशाख र जेठमा आलु अत्यधिक मात्रामा आयात भएको छ। जेठ मसान्तसम्म बंगलादेशबाट रु. ४ अर्ब ५२ करोड ८८ लाख ८९ हजार बराबरको सामग्री नेपाल आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु. ३ अर्ब ९६ करोड १३ लाख ९८ हजारको तुलनामा बढेको हो।

यता, भुटानसँगको व्यापार असन्तुलन भने ह्वात्तै बढेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले भुटानमा जम्मा रु. ११ करोड ६८ लाख ७६ हजार बराबरको निर्यात गरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा रु. ४६ करोड ७९ लाख ६१ हजारको निर्यात भएको थियो। यसअनुसार भुटानतर्फको निर्यात झन्डै ३०० प्रतिशतले घटेको देखिन्छ। यसको परिणामस्वरूप, चालू आर्थिक वर्षको ११ महिनामा भुटानसँगको व्यापार घाटा रु. १ अर्ब २८ करोड १२ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. ८३ करोड २९ लाखको घाटाभन्दा निकै बढी हो। नेपालबाट भुटानमा प्लाइउड र केही किराना सामग्री निर्यात हुने गरेको छ भने भुटानबाट जिप्सन र क्लिंकरजस्ता सामग्रीहरू नेपाल आयात हुने गरेका छन्। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भुटानबाट रु. १ अर्ब ३९ करोड ८१ लाख ५० हजार बराबरको सामग्री आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको रु. १ अर्ब ३० करोड ८ लाख ९८ हजारभन्दा बढी हो।

काँकडभिट्टा नाका बंगलादेश र भुटानसँग स्थलमार्गबाट हुने व्यापारका लागि नेपालको एक मात्र नाका हो। यसबाहेक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय भएर हवाईमार्गमार्फत पनि व्यापार हुने गरेको छ। नेपालले बंगलादेशको व्यापारका लागि स्थलमार्गका रूपमा काँकडभिट्टा–पानीट्यांकी–फूलबारी हुँदै बंगलाबन्ध नाका प्रयोग गर्दछ।

1

Scroll to Top