सरकारले वार्षिक ५२ करोड किलोभन्दा बढी एलपी ग्यास (तरलीय पेट्रोलियम ग्यास) आयात गर्दै आएको छ, जसको लागत झण्डै ५३ अर्बदेखि ६० अर्ब रुपैयाँसम्म पर्न आएको नेपाल आयल निगमले जनाएको छ। ग्यास आयातका कारण राज्यले झण्डै १० अर्ब रुपैयाँ बराबरको वार्षिक घाटा बेहोरिरहेको पनि निगमको तथ्यांकमा उल्लेख छ।
ग्यास खपतका कारण राज्यको आयात व्यय भार बढ्दो रहेकै बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ग्यास विस्थापन गरी स्वच्छ तथा विद्युतीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ योजना अघि सारेको छ। यसका लागि सरकारको बजेटमा ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा सातै प्रदेशका सात शहरमा कम्प्लिट वायारिङसहितको विद्युतीय चुलो प्रवद्र्धन परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यस्तै, घरायसी बायोग्यास प्रवर्द्धनका लागि २० करोड रुपैयाँ, सामुदायिक तथा संस्थागत बायोग्यास प्लान्टका लागि २० करोड २० लाख रुपैयाँ, र स्वच्छ ऊर्जा प्रविधि जडानका लागि ६ करोड ७६ लाख रुपैयाँ छुट्याइएको छ।
तर यस्ता योजनाहरू यसअघि पनि धेरैपटक बजेटमा समेटिए पनि व्यवहारमा कार्यान्वयन नहुने पुरानै अवस्था दोहोरिएको छ। उदाहरणस्वरूप, २०७९/८० को बजेटमा पनि “एलपी ग्यास छोडौं, बिजुली जोडौं” भन्ने अभियान ल्याइएको थियो। तर सिंहदरबार परिसरदेखि महानगरका सरकारी कार्यालयहरूमा समेत एलपी ग्यास विस्थापन हुन सकेन। उल्टै, ग्यासमा अनुदान कटौतीको निर्णय कार्यान्वयन हुन नसकी उल्टै अन्योल बढेको थियो।
नेपालमा हाल मासिक ३० लाख एलपी ग्यास सिलिण्डरको खपत भइरहेको छ। प्रत्येक सिलिण्डरमा औसत २५० रुपैयाँ घाटा सरकारले बेहोरिरहेको आयल निगमको भनाइ छ। झण्डै ३० लाख घरपरिवार अझै एलपी ग्यास प्रयोग गर्दै आएका छन् भने ३३ लाखभन्दा बढीले दाउरामा खाना पकाइरहेका छन्। बिजुली चुलो प्रयोग गर्ने घरधुरीको संख्या ३२ हजार ५७४ मात्र छ।
सरकारको लक्ष्य सहरी क्षेत्रका ७० प्रतिशत घरधुरीलाई विद्युतीय चुलो प्रयोगमा ल्याउने भए पनि त्यसका लागि ४९०० मेगावाट अतिरिक्त विद्युत् आवश्यक पर्ने देखिएको छ। हालको आपूर्ति क्षमता करिब १८०० मेगावाट मात्र छ। त्यसमाथि वितरण प्रणालीलाई सुदृढ बनाउन तत्काल २० अर्ब र आगामी पाँच वर्षमा ३० अर्ब रुपैयाँको थप लगानी आवश्यक रहेको ऊर्जा मन्त्रालयको अध्ययनले देखाएको छ।
यसर्थ, जबसम्म पूर्वाधार तयार गरिँदैन, तबसम्म स्वच्छ ऊर्जा प्रवर्द्धन र एलपी ग्यास विस्थापनको सरकारी योजना व्यवहारमा सफल हुने सम्भावना न्यून नै देखिन्छ।


