श्रावण १५, काठमाडौं ।
कैलालीमा बुधबार अविरल वर्षासँगै आएको बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बाढीबाट अति प्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटाका ११ वर्षीय छोरा स्केल चौधरी, जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, इश्वर शाही , चक्र विक, बेपत्ता भएका हुन् ।
बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा खोजी कार्य भइरहेको छ । त्यस्तै काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा कैलालीमा ६ हजार ३२० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बुधबार पसेको बाढीले जोशीपुरमा २ हजार ३ सय १५, भजनी नगरपालिकामा २ हजार १ सय ८०, टिकपुरमा नगरपालिकामा ८ सय २५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेका हुन् । भजनी नगरपालिकाका डुबान प्रभावितहरुलाई नजिकैको बिद्यालय र हुलाकी राजमार्गमा राखिएको छ ।


