हिमालयन बैंक लिमिटेडले सर्वसाधारणमा जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) खरीदका लागि १७ लाख ८६ हजार ७८२ जनाको आवेदन परेको छ ।
कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा जारी गरेको हो । अन्तिम दिनसम्म उल्लेखित आवेदकहरुबाट ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता एफपीओ खरीद माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा करिब साढे ४ गुणा बढी आवेदन हो ।
यस कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम एफपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ ।
हाल कायम चुक्तापूँजीमा संस्थापकतर्फको हिस्सा ७२ दशमलव ९९ प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा २७ दशमलव शून्य १ प्रतिशत छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम वापत् थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीको अधिकृत पूँजी २६ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ छ । २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको एफपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ कायम हुनेछ ।


