नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले उधारो उठाउनेसम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको आठौं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै ढकालले उधारो उठाउनेसम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको औंल्याए । यस विषयमा महासंघले सरकारका नियामक निकायसँग पैरवी गरिरहेको समेत उनले बताए ।
महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष ढकालले महासंघको पहल, पैरवीले सरकारले विभिन्न ३० ओटा कानून संशोधन गरेको र यसबाट लगानीमैत्री वातावरण सृजना भएको बताए । निजीक्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा उनले व्यक्त गरे । महासंघले रोजगारदाता र श्रमिकसँगको सम्बन्ध सुदृढ बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको उनको भनाइ छ ।
अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघ नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिए । जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै उनले यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताए । संघले साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, रोजगारी सृजना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारमा निर्वाह गरेको भूमिकाको सराहना गर्दै उनले आगामी दिनमा थप रचनात्मक कार्य हुने अपेक्षा गरे । महासंघले सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार, लगानीमैत्री वातावरण र अन्तरराष्ट्रिय व्यापार प्रवर्द्धनमा काम गरिरहेको उनले बताए । देशको आर्थिक पुनरुत्थानका लागि निजी–सरकारी साझेदारी अपरिहार्य भएको धारणा उनले राखे ।


