विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महानिर्देशक डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ बलियो र दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्च (Bled Strategic Forum) को २०औँ संस्करणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
डा. ओकोंजो–इवेलाले विश्व व्यापार प्रणाली अहिले अस्थिर सन्तुलनमा रहेको बताउँदै, “हाल देखिएका चुनौतीलाई अवसरमा परिणत गरी आगामी वर्षहरूमा व्यापारलाई अझ बलियो जगमा उभ्याउन सकिन्छ” भने । उनले बहुपक्षीय व्यापार प्रणालीले विश्वभरका मानिसहरूका लागि रोजगारी र समृद्धि ल्याएको उल्लेख गर्दै युरोपेली संघलाई यस सुधार प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे ।
सोही मञ्चमा युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारी आयुक्त जोजेफ सिकेलाले युरोपको तेस्रो मुलुकसँगको व्यापार, उत्पादन र लगानी सम्बन्ध भविष्यको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण हुने बताए । यस्तै, स्लोभेनियाका राज्य सचिव मातेभ्ज फ्राङेजले डब्ल्यूटीओका आधारभूत सिद्धान्तलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले युरोप र अमेरिकाबीच हालै भएको व्यापार सम्झौतालाई अन्यायपूर्ण र असन्तुलित रहेको टिप्पणी पनि गरे ।
सोही कार्यक्रममा मध्य, पूर्वी र दक्षिणपूर्वी युरोपका सम्भावना भएका ५०० उद्यमहरूलाई लगानी र साझेदारसँग जोड्ने उद्देश्यले ‘भविष्य ५००’ (Future 500) नामक नयाँ कार्यक्रमको पनि सुरुवात गरिएको छ । यो कार्यक्रमको नेतृत्व एट्लान्टिक काउन्सिल र ब्लेड व्यवस्थापन विद्यालयले गर्नेछन् ।
सन् २००६ मा स्थापित ब्लेड रणनीतिक मञ्च स्लोभेनियाको परराष्ट्र मामिला मन्त्रालय र युरोपेली दृष्टिकोण केन्द्रले संयुक्त रूपमा आयोजना गर्दै आएको छ । यसलाई स्लोभेनियाको सबैभन्दा प्रतिष्ठित वैदेशिक नीति तथा आर्थिक सम्मेलनको रूपमा लिइन्छ, जहाँ राष्ट्रप्रमुख, नीति निर्माता र व्यवसायीहरूबीच युरोपको भूमिकाबारे गहन छलफल हुने गर्दछ ।


