रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि दसैँ, तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल र कपडाका १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अड्किएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार रेडिमेड, इलेक्ट्रोनिक्स, हाइड्रोका सामान बोकेका कन्टेनर खासा, न्यालम, केरुङ, दिङ्री र ल्हासामा अड्किएका छन् ।
दसैँका लागि भनेर ल्याइएका रेडिमेड र फलफूल बोकेका चार सय कन्टेनर सामान खासा र न्यालम क्षेत्रमा रहेको छ । मितेरीपुलबाट भरियाले बोकेर झन्डै ४० कन्टेनर फलफूल भन्सार ल्याइएको तथा केही कन्टेनर रेडिमेड सामान पनि भरियामार्फत तातोपानी भन्सार ल्याइएको बताईएको छ ।
तातोपानी कोदारी क्षेत्रमा झरेको पहिरो पन्छाउने प्रयत्न सफल नभएपछि नजिक आएको चाडपर्वले हतारिएका व्यापारीहरू मुस्ताङको लोमान्थाङ नाकामा केन्द्रित हुन थालेका छन् । चिनियाँ क्षेत्रमा क्यारिङ गर्दै आएको स्टार कस्टम क्लियरेन्स एजेन्टले दुई महिनादेखि अड्किएका कन्टेनर लोमान्थाङ लाने तयारी गरेको चिनियाँ कम्पनी आडो ट्रान्सपोर्टले जानकारी दिएको छ ।
केरुङ, न्यालम, दिंग्रीलगायतमा अड्किएर बसेका कन्टेनर तिब्बत क्षेत्रको सागा भन्ने बाटोबाट लगभग एक हजार किलोमिटर दूरी पार गरेर मुस्ताङको लोमान्थाङ (कोरोला) पुर्याउने योजना बनाइएको छ । रसुवा नाकामा बेलिब्रिज तयार हुन अझै २० दिन लाग्ने र तातोपानी नाका कोदारी क्षेत्रमा डेढ महिनादेखि पहिरोले सडक अवरुद्ध भएकाले चाडपर्वलक्षित रेडिमेड सामान कोरोलाबाट ल्याउने तयारी गरिएको हो । यद्यपि, यो नाका धेरै टाढा छ । ढुवानी भाडाका कारण मूल्यवृद्धि हुन्छ ।
तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहका अनुसार पहिरोले अरनिको सडक बन्द भएकाले चाडपर्वलक्षित सामान व्यापारीको चाहनामुताबिक जुन नाकाबाट पनि ल्याउन खुला रहेको छ । कोदारीको इको क्षेत्रको पहिरो पन्छाउन धेरै समस्या भएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।