नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेनजी’ (युवा पुस्ता) सँग आफूहरूबाट भएका गल्ती र कमजोरीप्रति माफी माग्दै उनीहरूलाई संयमित भएर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले युवा आन्दोलनका मागहरूप्रति ऐक्यबद्धता जनाएका छन् ।
थापाले भदौ २३ गते भएको घटनामा १९ जना युवाको ज्यान गएकोमा दुःख व्यक्त गर्दै उक्त घटनामा आफू प्रत्यक्ष संलग्न नभए पनि त्यसको जिम्मेवारी लिँदै माफी मागेका छन् । उनले युवाहरूको निराशा र आक्रोश आफूले बुझेको बताउँदै आफ्नो ठाउँबाट पर्याप्त काम गर्न नसकेकोमा पनि माफी मागेका छन् ।
भिडिओमा थापाले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयको आफूले पार्टीभित्रै विरोध गरे पनि त्यसको सुनुवाइ नभएकोमा गुनासो गरे । उनले यदि त्यो निर्णय रोकिएको भए यति ठूलो घटना नघट्ने दाबी गरे ।
महामन्त्री थापाले युवा आन्दोलनले उठाएका भ्रष्टाचार छानबिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थाहरूलाई पारदर्शी बनाउने र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता मागहरूमा आफ्नो पूर्ण समर्थन रहेको बताए । उनले २०४६ सालपछिका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्ने र गलत गर्नेहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग पनि गरे ।
उनले आफ्नो घरमा भएको तोडफोडको घटनाले २०६१ सालमा इराकमा १२ नेपाली मारिँदाको अवस्थाको स्मरण गराएको बताए । आफ्नो बुबा-आमाले जोडेको घर भत्किँदाको पीडा व्यक्त गर्दै उनले परिवारलाई सुरक्षित स्थानमा सार्नुपरेको अनुभव सुनाए ।
थापाले युवाहरूलाई संविधानको परिधिभित्र रहेरै बोल्ड सुधारहरू गर्न र देशको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर संयमित हुन आग्रह गरे । उनले आफ्नो पुस्ताले गरेका गल्ती-कमजोरीहरूको जिम्मेवारी लिँदै युवा पुस्ताले नै देशको नेतृत्व सम्हाल्नुपर्नेमा जोड दिए । उनले भने, “तपाईंहरूकै जेनेरेसनले नै गर्न सक्छ, त्यसैले यो अगाडिको जेनेरेसनलाई बिदा गरेर, बीचको समय केही समय सम्हालेर, चाँडोभन्दा चाँडो तपाईंहरूले नै गर्नुपर्छ।”


