Banijya News

आन्दोलनले पुर्‍याएको क्षतिको बाबजुद पुनर्निर्माण र नयाँ लगानीमा जुट्दै निजी क्षेत्र

1
1.2K Shares

देशमा हालै भएको जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमा अर्बौंको नोक्सानी भएको छ । यसबाट हजारौंको रोजगारी धरापमा परेको र लगानी जोखिममा परेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो क्षतिबाट विचलित नभई पुनर्निर्माण र थप लगानीमा जुट्न सबै उद्योगी, व्यवसायीलाई आह्वान गरेका छन् । उनले दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी जस्ता संकटहरूबाट उठेर आएका व्यवसायीहरूले फेरि एकपटक सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

“हामी नआत्तिऔं, नथाकौं, आजैबाट क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा होमिऔं । थप लगानी गरी रोजगारी सिर्जनामा लागौं”, ढकालले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन् । उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको र यसले ८१ प्रतिशतभन्दा बढी अर्थतन्त्रमा योगदान पुर्याउने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले नयाँ पुस्तालाई उद्यमशीलताको महत्व बुझाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले पनि आन्दोलनका क्रममा केही व्यवसायीमाथि भएको आक्रमणबाट आफू र आफ्नो परिवार प्रभावित भए पनि निराश र विचलित नभएको बताएका छन् । उनले देशमा सकारात्मक परिवर्तन आउने र लोकतन्त्र थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले जे जस्तो क्षति भए पनि अझ सशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

यस्तै, चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी प्रदर्शन आफ्नो लागि इतिहासकै सबैभन्दा पीडादायी घटना भएको बताएका छन् । उनले युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनलाई बाह्य शक्ति र अराजक समूहले हिंसामा परिणत गरिदिएको उल्लेख गरेका छन् ।

चौधरीले आफ्नो घर, कारखाना र शोरुममा भएको आगजनी र लुटपाटले दशकौंको परिश्रम खरानीमा परिणत भएको पीडा व्यक्त गरे । तर, यस्तो कठिन परिस्थितिमा पनि आफ्नो नेतृत्ववर्ग र कर्मचारीले देखाएको समर्पणको प्रशंसा गर्दै उनले भने, “आगो सल्कँदा पनि हाम्रो टोली पराजित भएन । तपाईंहरूकै कारण आशा बाँकी छ ।” उनले यो क्षतिबाट अझ बलियो भएर उदाउने प्रतिबद्धता जनाएका छन् ।

समग्रमा, निजी क्षेत्रका प्रमुख अगुवाहरूले जेनजी आन्दोलनले पुर्‍याएको क्षतिबाट विचलित नभई पुनर्निर्माण, लगानी र रोजगारी सिर्जनामा लाग्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिँदै, अहिलेको संकटलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूले युवा पुस्ताको साहस र जोशलाई सही दिशामा प्रयोग गर्न सके मात्र नयाँ र उज्यालो बिहानी आउने विश्वास पनि व्यक्त गरेका छन् ।

1

Scroll to Top