Banijya News

बजारमा सहज आपूर्ति व्यवस्था सुनिश्चित गर्न सरकारको आग्रह

1
1.2K Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालैको आन्दोलनले सिर्जना गरेको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै बजारमा उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था कायम राख्न सरोकारवाला सबैलाई आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका कारण उत्पन्न भएको अवस्था अहिले सामान्य बन्दै गएको जानकारी दिएको छ।

विभागले उपभोक्ताको हित संरक्षण र दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज उपलब्धताका लागि विशेष ध्यान दिन सम्पूर्ण उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, र बिक्रेतालगायत निजी क्षेत्रलाई अनुरोध गरेको छ। यसले बजारमा कृत्रिम अभाव सिर्जना भई उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न सक्ने जोखिम कम हुने विश्वास लिइएको छ।

साथै, विभागले बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नभएकोले उपभोक्तालाई पनि संयमता अपनाउन आग्रह गरेको छ। अनावश्यक रूपमा वस्तु खरिद गरी सञ्चय नगर्न अनुरोध गर्दै विभागले यस्तो व्यवहारले पनि बजारमा कृत्रिम अभावको स्थिति सिर्जना हुन सक्ने चेतावनी दिएको छ।

यस कदमले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्दै सबै पक्षको सहयोगमा आपूर्ति प्रणालीलाई सुचारु बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top