Banijya News

अब नेप्सेमा सूचकांक अन्तिम कारोबार मूल्यकै आधारमा

1
1.3K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि सूचकांक गणना अन्तिम कारोबार मूल्यकै आधारमा गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनअनुसार मंगलबारदेखि यो व्यवस्था लागू हुने भएको हो ।

सेबोनको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले अन्तिम १५ मिनेटको कारोबारका आधारमा भारित औसत मूल्य प्रयोग गर्ने प्रावधान हटाएर अन्तिम कारोबार मूल्यलाई नै सूचकांक गणनाको आधार बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्णयअनुसार नेप्सेले असोज ५ गते प्राविधिक परीक्षण गरिसकेको र असोज ६ गते सार्वजनिक बिदा परेको कारण असोज ७ गतेदेखि नयाँ विधि लागू हुने जनाएको हो ।

यसअघि नेप्सेले दिउँसो २:४५ देखि ३ बजेसम्मको अन्तिम कारोबार अवधिमा कायम हुने मूल्यको भारित औसतलाई अन्तिम मूल्य मानी सूचकांक गणना गर्दै आएको थियो । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई गत चैत ७ गते संशोधन गरी उक्त व्यवस्था लागू गरिएको भए पनि लगानीकर्ताले त्यसलाई व्यवहारिक नदेखिएको भन्दै निरन्तर आलोचना गर्दै आएका थिए ।

बोर्डले बजारमा तत्काल सकारात्मक प्रभाव देखियोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको बताएको छ । साथै, नेप्से सूचक तथा समूहगत सूचकहरूको गणनामा अन्य कमजोरी भए त्यसलाई समेत अध्ययन गरी आवश्यक सुधार गर्ने निर्णय गरिएको छ ।

हालै असोज २ गते लगातार बन्द भएको बजार खुलेपछि ६ प्रतिशतको नेगेटिभ सर्किट लागेर केही मिनेटमै कारोबार रोकिएको घटनापछि लगानीकर्ताको मनोबल गिरावटमा गएको थियो । सो घटनापछि लगानीकर्ताको विश्वास फिर्ता ल्याउन बोर्डले अन्तिम १५ मिनेटको औसत मूल्य गणना विधि हटाएको हो ।

सो निर्णयले तत्काल बजारमा सकारात्मक प्रभाव पारेको छ । असोज ५ गतेको कारोबारमा नेप्से सूचक ४ दशमलव ४४ प्रतिशत अर्थात् १११ दशमलव ७० अंकले बढ्दै २ हजार ६२३ दशमलव ६२ विन्दुमा पुगेको थियो । यस दिन ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भयो भने कुल बजार पूँजीकरण झण्डै २ खर्ब रुपैयाँले बढेको थियो ।

अर्थमन्त्री रामेश्वर खनालले हालको चुनौती समाधानका लागि चार सदस्यीय कार्यदल गठन गरिसकेको र त्यसले प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव दिने भएकाले लगानीकर्तामा थप आशा पलाएको देखिएको छ ।

पूँजी बजार विश्लेषक मुक्ति अर्यालका अनुसार अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गर्ने नयाँ व्यवस्था र सरकारले बनाएको कार्यदल दुवैले लगानीकर्ताको मनोबल बढाएको छ । उनले यस कदमलाई अल्पकालीन सुधारका लागि सकारात्मक ठहर गरे पनि दीर्घकालीन स्थायित्वका लागि अझै ठोस सुधार आवश्यक रहेको बताए ।

1

Scroll to Top