सेयर बजारमा कारोबार भइरहेका कम्पनीमध्ये अझै पनि धेरै कम्पनीको सेयर मूल्य २५० रुपैयाँ भन्दा तल रहेको छ । नेप्से परिसूचक गत आइतबार १११ अंकले बढेर बन्द भए पनि बजारमा २३ वटा कम्पनीको सेयर मूल्य भने दुई सय ५० रुपैयाँभन्दा कममै सीमित छ ।
साउन महिनामा ३ हजार विन्दु छोएको बजार त्यसयता क्रमशः घट्दै आएको छ । केही दिनअघि भएको जेनजी आन्दोलनका कारण बजार केही समय बन्द भएको थियो । त्यसपछि खुलेको बजार एकै दिन ६ प्रतिशतले घटेर बन्द भएको थियो । आइतबार भने बजार फर्किए पनि अहिलेसम्म बजार तल्लो विन्दुमै रहेको देखिन्छ ।
२५० रुपैयाँभन्दा कममा कारोबार भइरहेको कम्पनीमध्ये १० वटा वाणिज्य बैंक समूहका र १३ वटा जलविद्युत् (हाइड्रोपावर) समूहका छन् । नेप्से सूचकमा बढी भार राख्ने यी दुई समूहकै सेयर अहिले सबैभन्दा सस्तो मानिएका छन् ।
आइतबारको बजार मूल्यअनुसार सबैभन्दा सस्तो सेयर शिवश्री हाइड्रोपावरको रह्यो । कम्पनीको सेयर १७४ रुपैयाँ ३० पैसामा कारोबार भयो । त्यसपछि हिमाल दोलखा हाइड्रोपावर, बलेफी हाइड्रो, अप्पर तामाकोशी हाइड्रो, आँखुखोला जलविद्युत, नसेनल हाइड्रोपावर, लिबर्टी इनर्जी, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र रिभिडी पावरलगायतको सेयर मूल्य पनि २५० भन्दा तल छ । त्यस्तै दोर्दी खोला जलविद्युत, छ्याङदी हाइड्रोपावर र खालिन हाइड्रोपावरको सेयर मूल्य पनि दुई सय ५० भन्दा कममा रहेको छ ।
वाणिज्य बैंक समूहतर्फ कुमारी बैंकको सेयर सबैभन्दा सस्तो रहेको छ । बैंकको सेयर मूल्य १८९ रुपैयाँ ७५ पैसा कायम छ । केही समयअघि मात्रै १५६ रुपैयाँमा एफपीओ निष्काशन गरेको हिमालयन बैंकको सेयर आइतबार १९८ रुपैयाँ २९ पैसामा कारोबार भयो । यसैगरी सिटिजन्स बैंकको २०४ रुपैयाँ ३८ पैसा, प्रभु बैंकको २०५ रुपैयाँ २६ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २०४ रुपैयाँ ४५ पैसा, लक्ष्मी सनराइज बैंकको २३० रुपैयाँ ८५ पैसा, माछापुच्छ्रे बैंकको २२९ रुपैयाँ ९२ पैसा, ग्लोबल आइएमई बैंकको २४३ रुपैयाँ ३३ पैसा, प्राइम कमर्सियल बैंकको २४३ रुपैयाँ २६ पैसा र नेपाल बैंकको २४९ रुपैयाँ ०३ पैसा रहेको छ ।


