Banijya News

क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सरकार, नयाँ कोषमार्फत स्रोत जुटाइने

1
1.2K Shares

भदौ २३ र २४ जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । अर्थ मन्त्रालयका अनुसार पुनर्निर्माणमा आवश्यक स्रोत जुटाउन सरकारले योगदानकर्तालाई करछुटको आकर्षक सुविधा दिने व्यवस्था गरेको छ ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार कोषमा योगदान गर्ने संस्था वा निकायले चालू आर्थिक वर्ष ०८२–८३ कै करयोग्य आयबाट सो रकम कटौती गर्ने सुविधा पाउनेछन् । यसले व्यावसायिक प्रतिष्ठानलाई योगदान दिन प्रोत्साहित गर्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार बुधबार साँझ राष्ट्रिय वाणिज्य बैंकमा कोषको खाता खोलीएको छ । बिहीबारदेखि योगदान गर्न सकिने सुविधा मिलाइएको छ । ‘कोषमा योगदान गर्ने संस्थाले कर छुटसमेत पाउने भएपछि ठूलो मात्रामा स्रोत जुट्ने विश्वास गरिएको छ,’ उनले बताए ।

यसैबीच, कोष सञ्चालनका लागि अर्थमन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरिएको छ । समितिमा गृहमन्त्री, सहरी विकासमन्त्री र मुख्यसचिव सदस्य रहने व्यवस्था गरिएको छ भने सहरी विकास मन्त्रालयका सचिव सदस्यसचिव हुनेछन् । समितिको सचिवालय पनि सहरी विकास मन्त्रालयमै रहनेछ ।

सरकारले सार्वजनिक सूचनामार्फत नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका निकाय, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई कोषमा योगदान गर्न आह्वान गरेको छ ।

कोषमा जम्मा हुने रकम आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण, मर्मत, आवश्यक फर्निचर वा उपकरण खरिद, राहत तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनमा खर्च गरिने कार्यविधिमा उल्लेख छ । सहरी विकास मन्त्रालयले समितिको निर्णयअनुसार बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवार निकाय तोक्नेछ ।

कार्यविधिअनुसार कार्यक्रम सञ्चालनका लागि रकम निकासा भएपछि सम्बन्धित निकायले सो रकम तोकिएको उद्देश्यमा मात्रै खर्च गर्नुपर्ने छ । आर्थिक वर्षभित्र खर्च नभएको रकम कोषमा फिर्ता गर्नुपर्ने प्रावधानसमेत गरिएको छ ।

1

Scroll to Top