प्रदर्शनका बेला गरिएको तोडफोड र आगजनीमा परेका उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठान पुनर्निर्माणमा सरकारले राहत घोषणा गरेको छ । पुनर्निर्माणका क्रममा सामग्री आयात गर्दा भन्सार तथा अन्तःशुल्क ५० प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
‘उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा सोको पुनःस्थापना तथा सञ्चालनका लागि आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा आर्थिक ऐनको दफा १८ को उपदफा १ बमोजिम ५० प्रतिशत छुट दिने,’ अर्थ मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
भन्सार महसुल छुट सुविधा एक पटक उपभोग गरिसकेका तारे होटलले दोहोरो सुविधा उपलब्ध नहुने गरी छुट पाउनेछन् । आन्दोलनबाट प्रभावित उद्योगी, व्यापारिक व्यावसायिक प्रतिष्ठानका ऋणीले साँवा–ब्याज भुक्तानी गर्नुपर्ने अवधि पनि थपिनेछ ।
‘आर्थिक गतिविधिको पुनःस्थापना गरी सञ्चालन गर्न आधार दरमा बढीमा शून्य दशमलव पाँच प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराइनेछ,’ निर्णयमा भनिएको छ, ‘व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भई नयाँ खरिद गर्नुपर्ने भए बैंक कर्जामा कर्जा–मूल्य अनुपात कम्तीमा ८० प्रतिशत हुने व्यवस्था मिलाइने ।’
कर्मचारीको रोजगारी सुनिश्चित गर्न ‘पेरोल प्रोटेक्सन स्किम’ ल्याएर बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भए आधार दरमा बढीमा शून्य दशमलव पाँच प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने निर्णय भएको छ । सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट ६ महिनाका लागि २ प्रतिशत अनुदान उपलब्ध गराइनेछ । क्षतिको प्रारम्भिक प्रतिवेदनका आधारमा बिमाबापतको अनुमानित क्षतिको बढीमा ५० प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा भुक्तानी गर्ने पनि निर्णय भएको छ । यसरी सिर्जना हुने दाबी भुक्तानीका लागि तत्काल सर्भेयर खटाउने निर्णय छ ।
‘बिमा कम्पनीले बिमितलाई दाबी भुक्तानी गर्नका लागि पुनर्बिमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा बढीमा ५० प्रतिशतसम्म रकम उपलब्ध गराउने व्यवस्था मिलाउने,’ निर्णयमा भनिएको छ ।


