नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिले आफ्ना उत्पादन काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल सोरुममा समेत उपलब्ध हुने जानकारी दिएको छ ।
राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक पहिचान पुनर्जीवित गर्दै आएको छ । उन्नतिले पुरानो र नयाँ कला र संस्कृतिबीचको पुलका रूपमा नेपालको सम्पदालाई आधुनिक जीवनशैलीसँग जोड्ने प्रयास गरिरहेको छ ।
स्थायित्व र सशक्तीकरणमा केन्द्रित उन्नतिले स्थानीय समुदायलाई सशक्त बनाउन तल्लो तहबाटै उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । यसले नेपालको कलात्मक उद्योगका मूर्त तथा अमूर्त दुवै पक्षलाई उपयोग गर्दै रोजगारी, अवसर र सांस्कृतिक संरक्षणको वातावरण सृजना गर्दै आएको छ ।
सीजी डिजिटलमा आयोजित उद्घाटन समारोहमा उपस्थित ग्राहक र शुभेच्छुकहरूले उन्नतिका आकर्षक उत्पादनप्रति उत्साह प्रकट गरेका थिए । प्रत्येक उत्पादनले नेपालको कला, संस्कृति र सीपको सुन्दर झल्को दिएको सहभागीहरूले बताए ।
“हाम्रो उद्देश्य कला, हस्तकला, संगीत, खानेकुरादेखि नेपाली परम्परामा आधारित परम्परालाई तथा वस्तुहरूलाई दैनिक जीवनमा भित्र्याउने हो । हामीले बनाएका प्रत्येक वस्तुले नेपालको जीवित सम्पदाको कथा बोकेको हुन्छ । यी उत्पादनहरू उपहार वा स्मारिका रूपमा प्रयोग गर्न सकिन्छ,” उन्नतिकी अपरेसन प्रमुख अस्मिता शाक्यले भनिन् ।
उन्नतिका उत्पादनहरूले समुदाय सशक्तीकरण र दिगोपनामा जोड दिएका छन् । यसले नेपाली कारीगरका सीपलाई प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नुका साथै आधुनिक जीवनशैलीमा उपयुक्त र अर्थपूर्ण वस्तुहरू उपलब्ध गराएको छ ।
अब ग्राहकहरूले विशालनगर, बसुन्धरा, गठ्ठाघर र जोरपाटीस्थित सीजी डिजिटल सोरुमहरूमा उन्नतिका सिरेमिक टेबलवेयर, गृह सजावटका सामग्री, स्पा तथा वेलनेसका वस्तु, स्मारिका र फेसन एक्सेसरी, स्टेसनरी तथा जीवनशैलीका विविध उत्पादनहरू सहजै खरिद गर्न सक्ने उन्नतिले जनाएको छ ।


