लामो समयदेखि रोकिएको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापतको रकम सरकारले एकैपटक निकासा गरेको छ । विगत २ वर्षदेखि राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई शोधभर्ना दिन बाँकी रहेको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक भुक्तानी भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सम्बन्धित बैंकहरूको खातामा उक्त रकम पठाएको हो । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरू प्रसाद पौडेलका अनुसार २०८० साउनदेखिको अर्थात् २०८१ चैत मसान्तसम्मको ७ वटा त्रैमासको ब्याज अनुदानबापतको १० अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम निकासा भएको छ ।
यो रकम भुक्तानीका लागि जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएसँगै निर्णय गरिएको थियो । अर्थ मन्त्रालयले निकासा दिएपछि राष्ट्र बैंकले भुक्तानीको प्रक्रिया अगाडि बढाएको हो ।
कार्यकारी निर्देशक पौडेलले अहिले चैत मसान्तसम्मको भुक्तानी भए पनि राष्ट्र बैंकको कोषमा रहेको बाँकी रकमले अर्को त्रैमासमा गत आर्थिक वर्ष (२०८२ असार मसान्त) सम्मको बक्यौता ब्याज अनुदानको शोधभर्ना भुक्तानी हुने जानकारी दिएका छन् । चालु आर्थिक वर्षको हकमा भने बजेटमा भएको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।
एकसाथ साढे १० अर्ब रुपैयाँ बजारमा जाँदा यसले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । बैंकहरूले ऋणीलाई ब्याज अनुदान रकम भुक्तानी गरिसकेको भए यसले बैंकहरूलाई थप सहज हुनेछ । यदि भुक्तानी गर्न बाँकी रहेको खण्डमा तिहार र छठ पर्वअगाडि नै ऋणीको खातामा ब्याज अनुदानको ठूलो रकम एकसाथ जम्मा हुनेछ ।
यो ब्याज अनुदान भुक्तानीले सहुलियतपूर्ण कर्जा लिएका करिब ९८ हजार ऋणीले एकसाथ ठूलो राहत महसुस गर्ने कार्यकारी निर्देशक पौडेलले बताएका छन् ।


