सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड थप वृद्धि भएको हो ।
अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको४४ दशमलव ६१ प्रतिशत हुन आउँछ ।
कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।
यससँगै सरकारले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिनामै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म १ खर्ब ८४ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिइएको हो ।
कार्यालयका अनुसार असोजसम्म आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड पुगेको छ । जुन जीडीपीको २०.९३ प्रतिशत हो । वाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ । यो जीडीपीको २३.६९ प्रतिशत हो । यस अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण नेपालको ऋण दायित्व ४० अर्ब २६ करोडले बढेको छ ।
सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये असोज मसान्तसम्म उठाइएको १ खर्ब ८४ करोड रुपैयाँ ऋण लक्ष्यको १६.९३ प्रतिशतमात्र हो ।
यस अवधिमा आन्तरिक ऋण ९० अर्ब रुपैयाँ उठाइसकिएको छ । वाह्य ऋण १० अर्ब ८४ करोड लिइएको छ । यस वर्ष आन्तरिक ऋण कुल ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब रुपैयाँ हाराहारी लिने लक्ष्य सरकारको छ ।
असोज मसान्तसम्म लिएको ऋणमध्ये आन्तरिक ऋण हिस्सा ८९.२४ प्रतिशत र वाह्य ऋण हिस्सा १०.७६ प्रतिशत छ ।
असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । कार्यालयका अनुसार उक्त अवधिमा आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ९६ अर्ब ४१ करोड र वाह्य ऋणको साँवाब्याज भुक्तानीमा १३ अर्ब ४७ करोड खर्च भएको छ ।
आन्तरिक ऋणको साँवा भुक्तानीमा ८० अर्ब १५ करोड र ब्याज भुक्तानीमा १६ अर्ब २६ करोड खर्च भएको तथ्यांक छ । वाह्य ऋणको साँवा भुक्तानीमा १० अर्ब ३५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब १२ करोड खर्च भएको छ । कुल साँवा खर्च ९० अर्ब ५० करोड र ब्याज खर्च १९ अर्ब ३८ करोड भएको कार्यालयको तथ्यांक छ ।
यस वर्ष सरकारले साँवा ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेको छ । असोजसम्मको खर्च २६.७४ प्रतिशत छ । एक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा ३ खर्ब २ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ ।


