Banijya News

मधेशको आर्थिक वृद्धि ३.८८ प्रतिशत, प्रतिव्यक्ति आय कति ?

1
1.2K Shares

आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको हो ।

गत आव देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान कार्यालयको छ । त्यस्तै मधेशको जीडीपी उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ ।

राष्ट्रिय जीडीपी आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेशमा ३.८८ प्रतिशतले बढ्ने अनुमान छ । मधेशको जीडीपीमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ३६.७० प्रतिशत छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत छ ।

आव २०८१/८२ मा मधेशको प्रतिव्यक्ति आय ९ सय ३२ अमेरिकी डलर हुने अनुमान छ । प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफलमा क्रमश: २५.२० र ७.९४ प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।

२०८१/८२ मा खाद्य तथा अन्य बाली उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत, फलफूल उत्पादन ९.०७ र मसला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ । मधेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ । यो रकम मधेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हो ।

गत आव मधेशका उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत छ । २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेको छ । अघिल्लो आव यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड थियो ।

1

Scroll to Top