एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र Visa सँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ ।
एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्नका लागि सम्झौतामा हस्ताक्षर गरिएको छ ।
कम्पनीका अनुसार सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिन बिना नै आफ्नो NFC इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन् ।
पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको बैंकले जनाएको छ ।
एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सकिने बताइएको छ ।
यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ । यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढवा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ । एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।


