घरजग्गा कारोबार वार्षिक २.८ प्रतिशतले बढे पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म बैंकिङ प्रणालीमार्फत दुई खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह भएको भए पनि समग्र बजारमा कर्जाको माग सुस्त छ।
गत आवको सोही अवधिमा दुई खर्ब ६८ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । चालु आवको तीन महिनामा बैंकिङ प्रणालीबाट कुल ६५ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ ऋण प्रवाह भएको छ। वाणिज्य बैंकहरूबाट मात्रै दुई खर्ब २६ अर्बभन्दा बढी कर्जा प्रवाह भए पनि वृद्धि दर ०.३५ प्रतिशतमा सीमित छ।
विकास बैंकको कर्जा प्रवाह भने १५.८९ प्रतिशतले बढेर ३७ अर्ब १४ करोड पुगेको छ। त्यस्तै वित्त कम्पनीहरूले १६.९० प्रतिशत वृद्धि गर्दै ११ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन्।
बैंकिङ प्रणालीमा तरलता धेरै भए पनि माग अभावका कारण कर्जा विस्तार स्थिर छ। हाल प्रणालीमा लगानीयोग्य पुँजी करिब नौ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी छ। यसैबीच, कर्जा प्रवाह विस्तार गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत निश्चित प्रयोजन नखुलेका व्यक्तिगत अधिविकर्ष, सम्पत्ति कर्जा, आवधिक कर्जा तथा अन्य शीर्षकमा प्रतिव्यक्तिलाई एक करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था लागू गरेको छ।
प्रदेशगत अवस्थाले पनि घरजग्गा कारोबार बढेको देखिन्छ। राष्ट्र बैंकका सातै प्रदेश कार्यालयले तयार पारेको अध्ययनअनुसार पछिल्लो समय लुम्बिनी, मधेस, सुदूरपश्चिम, गण्डकी र कोसी प्रदेशमा कारोबार वृद्धि भएको छ भने बागमती र कर्णाली प्रदेशमा घटेको छ।


