Banijya News

रोहित बने एनपिएलको सर्वाधिक रन बनाउने तेस्रो खेलाडी

1
1.1K Shares

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल दोस्रो एनपिएलको सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा उक्लेका छन् । बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्सविरुद्ध ३४ रन बटुलेपछि उनले कर्णाली याक्सका मार्क वाटलाई चौथोमा पुर्‍याएका हुन् । रोहितभन्दा अगाडि सुदूरपश्चिमका विनोद भण्डारी र शीर्ष स्थानमा पोखरा एभेन्जर्सका एडम रोसिंटन छन् ।

विनोदले २६४ रन तथा एडमले ३२३ रन जोडेका छन् । दोस्रो संस्करणको उपाधि भिडन्त शनिबार हुँदै छ । उपाधि प्रतिस्पर्धामा लुम्बिनीले दोस्रोपटक फाइनल खेलिरहेको सुदूरपश्चिमको सामना गर्नेछ ।

यस खेलपछि नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेको टुंगो लाग्नेछ । रोहितभन्दा विनोद ४ रनले अगाडि छन् । रोहित र विनोदबिच उपाधि भिडन्तसँगै धेरै रन बनाउने होडबाजीसमेत चल्नेछ । विनोदको तुलनामा रोहितले एक खेल बढी खेलेका छन् । रोहितले नौ इनिङ्स ब्याटिङ गरी १६ चौका र आठ छकका प्रहार गरेका छन् ।

समग्रमा रोहितले दुईवटै एनपिएलमा गरी ५३९ रन जोडेका छन् । नेपाली खेलाडीमध्ये पाँच सय रन बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् । सुदूरपश्चिमका विनोद पाँच सय रन जोड्न एक रनले पछाडि छन् । उनले शनिबार हुने खेलमा यो आँकडा पार गर्ने विश्वास लिएका छन् ।

दोस्रो एनपिएलमा धेरै रन बनाउने १५ ब्याट्सम्यानमध्ये रोहितले मात्र अर्धशतकीय इनिङ्स खेलेका छैनन् । उनीबाहेक अन्य १४ खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका छन् ।

पोखराका एडम र कर्णालीका मार्कले मात्र शतकीय इनिङ्स खेलेका थिए । चितवनका रवि बोपाराले लगातार तीन खेलमा अर्धशतक लगाएका थिए । नेपाली खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेलले दुई खेलमा अर्धशतक जोडेका थिए ।

1

Scroll to Top