नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’को सञ्चालक भार्टिस प्ल्याटफर्म्स आईपीओमा जाने भएको छ ।
यो कम्पनी कार्की र उनको साथी भविन पटेल मिलेर खोलेका हुन् । पटेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् भने कार्की प्रमुख टेक्नोलोजी अधिकृत छन् ।
आगामी १८ देखि ३६ महिनाभित्र प्रारम्भिक सार्वजनिक सेयर निस्कासन (आईपीओ) का लागि तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पटेललाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।
पीटुपी लेन्डिङ यस्तो डिजिटल प्ल्याटफर्म हो, जसले ऋण लिने र दिनेलाई बैंक वा वित्तीय संस्थाको संलग्नता विना सिधै आपसमा जोडिदिन्छ । यो प्रणालीमा आबद्ध ऋणदाताले आफूसँग भएको पैसा अर्को व्यक्तिलाई सिधै ऋण दिन सक्छन्, ऋण लिनेले पनि सजिलै पाउन सक्छन् ।


